पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

डा. जगमान गुरुङ

।। पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ? ।।
अहिले सिन्धुलिमा अघि पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गरेका वीर लडाकाहरुको शालिक स्थापना गर्न लागिएको रहेछ।राष्ट्रको निर्माणमा योगदान दिएका वीर योद्धाहरुको सम्मान गर्नु अति महत्त्वपूर्ण प्रशंसनीय काम हो तर यस्तो काम ज्यादै संवेदनशिल हुन्छ।त्यसकारण यस्तो काममा ज्यादै होस पुय्राउनु पर्छ।
ईति-हि- आस= अघि यस्तो थियो।यो नै इतिहासको व्युत्पत्ति र अर्थ हो।त्यसकारण ईतिहास अघि जस्तो थियो, त्यस्तै लेखिनु पर्छ।पृथ्वीनारायण शाहको पालामा सिन्धुलिमा अंग्रेजसंग सिकारीको सर्दार एक जना गुरुङले बीरतापूर्वक लडेर अंग्रेजलाई परास्त गरेका थिए।अहिले सिन्धुलिमा स्थापना गर्न लागिएको शालिकमा उक्त सिकारीको सर्दार गुरुङको नाम वंशु गुरुङ लेखिएको छ भन्ने बुझिन आएको छ।त्यसकारण यस विषयमा बहस गर्न अत्यावश्यक भएकोले आफ्नो Face Book Page मार्फत् त्यस विषयमा इतिहाससम्मत केही तथ्य प्रमाणहरु प्रस्तुत गरेको छु।
ईतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको संक्षिप्त वृत्तान्त ( खण्ड १ ) मा उक्त गुरुङको नाम भैँसे गुरुङ लेख्नु भएको छ।त्यसपछि ईतिहास शिरोमणि बाबुराम आचार्यले नै श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह ( संक्षिप्त जीवनी ) भाग ३ को पृष्ठ ४७९ मा उक्त गुरुङको नाम बंसु गुरुङ लेख्नु भएको छ।यसरी ईतिहास शिरोमणि बाबुराम आचार्यले लेखेको र श्री ५ महाराजाधिराजका प्रमुख संवाद सचिवालय, राजदरबारबाट प्रकाशित पुस्तकमा बंसु गुरुङ लेखिएको हुँदा त्यसपछिका ईतिहास पढ्ने र लेख्नेहरुले यस सन्दर्भमा कुनै सोँच विचार र समुचित अध्ययन अनुसन्धान नै नगरी आँखा चिम्लेर बंसु गुरुङ नै पढे र बंसु गुरुङ नै लेखे।यसरी सिन्धुलिको लडाइँमा अंग्रेजसंग लड्ने सिकारीको सर्दार बंसु गुरुङ भन्ने प्रचलित हुँदै गयो तर कुरा यस्तो होइन, यो सरासर गल्ती हो।
डा. डिल्लिरमण रेग्मीद्वारा लिखित Modern Nepal, Vol I को पृ. १९० मा स्थानीय वंशावलीको हवाला दिँदै उक्त सिकारीको सर्दारको नाम बंस गुरुङ ( Bansa Gurung) लेखिएको छ।
स्वयं ईतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह ( संक्षिप्त जीवनी) भाग ३ को पृ. ४९०-५९१ मा प्रकाशित वंशावलीमा दुई ठाउँमा वंस गुरुङ र एक ठाउँमा वंसु गुरुङ लेखिएको छ तर वहाँले चाहिँ माथी भने झैँ बंसु गुरुङ लेखिदिनु भयो र बंसु गुरुङ भन्ने प्रचार हुँदै गयो।
ईतिहास संशोधन मण्डलले सम्पादन गरेको र जगदम्बा प्रकाशनले प्रकाशित गरेको श्री ५ पृथ्वीनारायण शाहको उपदेश शीर्षक पुस्तकको पृ.८६२-८६४ मा उक्त सिकारीको सर्दारको नाम वंश गुरुङ लेखिएको छ।वंस गुरुङको शुद्धरूप वंश गुरुङ हो।
ईतिहास संशोधन मण्डल विद्वत्वर पं. नयराज पन्तको प्रत्यक्ष संरक्षण र निर्देशनमा संगठित एवं सञ्चालित संस्था हो।ईतिहास संशोधन मण्डलले वैज्ञानिक अन्वेषण गरेर विभिन्न प्रमाण र प्रमेयको आधारमा नेपालको प्रामाणिक ईतिहास प्रकाशित गरि ठूलो मान र ईज्जत कमाएको छ। त्यसकारण ईतिहास संशोधन मण्डलले गरेको कुनै पनि काममा कसैसंग सम्झौता हुन सक्तैन।यदि ईतिहास संशोधन मण्डलले गरेको काममा अन्यथा हुन गएमा विद्वत्वर पं. नयराज पन्त, वरिष्ठ इतिहासविद् धनवज्र वज्राचार्य, प्राज्ञ ज्ञानमणि नेपाल, पं. भोलानाथ पौडेल प्रभृति विद्वानहरुको मान मर्दन भएको ठहरिने छ।
त्यसकारण विद्वत्वर पं. नयराज पन्तको प्रत्यक्ष निर्देशनमा सम्पादित एवं कमलमणी दीक्षित जस्ता वरिष्ठ विद्वानको निर्देशनमा सञ्चालित जगदम्बा प्रकाशनद्वारा प्रकाशित श्री ५ पृथ्वीनारायण शाहको उपदेश शीर्षक पुस्तकमा सिन्धुलिको लडाइँमा अंग्रेजसंग लडेका सिकारीको सर्दार वंश गुरुङ लेखिएकोले ईतिहास प्रमाणको आधारमा उक्त सिकारीको सर्दारको नाम बंसु गुरुङ वा वंशु गुरुङ नभई वंश गुरुङ हो भन्ने ठहर हुन्छ।अत: यो नै सत्य तथ्य ईतिहास हो।
अघि द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनका साथमा अट्ठार जना गुरुङ उमराहरु थिए।ती अट्ठार जना गुरुङ उमराहरु मध्ये लमजुङ कपुर गाउँका भास्कर कोने लामछाने गुरुङ पहिलो नम्बरमा थिए।द्रव्य शाहले गोरखा विजय गरे पछि ती गुरुङ उमराहरु गोरखाको सिरानचोकदेखि अजिरकोट, सिम्जुङ, गुरुङथोक र भुम्लिचोक, घ्याल्चोक आदि स्थानहरुमा बसे।द्रव्य शाहको पालाका उमरा ती भास्कर कोने लामछाने गुरुङको वंशमा पृथ्वीनारायण शाहको पालाका सिकारी सर्दार वंश गुरुङ जन्मे।पृथ्वीनारायण शाहको शेषपछि रणबहादुर शाहको राज्यकालमा तनहूँ र ढोर आदि राज्यहरु बृहद् नेपाल अधिराज्यमा समाहित भए।तनहूँ र ढोरको विजयमा सिकारी सर्दार वंश गुरुङका जेठा छोरा लक्ष्मण गुरुङको ठूलो योगदान थियो।त्यसकारण आफ्ना पिता सिकारी सर्दार वंश गुरुङको रिझ गुण र लक्ष्मण गुरुङ आफ्नै पनि बहादुरीको पनि रिझ गुण बापत ढोर राज्य अन्तरगत तालबेसी विर्ता, जसपुर डिहि र सेरोको फेरो विर्ता पाएर लक्ष्मण गुरुङ गोरखा सिरानचोकबाट ढोर , जसपुर आई विर्ता भोग गरेर बसे।
लक्ष्मण गुरुङको वंशमा सिकारी सुब्बा पतिराम गुरुङ जन्मे।सोह्र हजार चितवन सिकारी सुब्बा पतिराम गुरुङको मातहतमा थियो।मधेशको हात्ती खेदा ( हात्तीको सिकार) मा सिकारी सुब्बा परिराम गुरुङ दिवङ्गत भए ।त्यसपछि सिकारी सुब्बा पतिराम गुरुङका जेठा छोरा मन्ध्वज गुरुङ दुई हजार ढोरका महामुखिया भए।
यसरी पृथ्वीनारायण शाहको पालाका सिकारी सर्दार वंश गुरुङको समयदेखि उनका वंशज सिकारी सुब्बा पतिराम गुरुङको पालासम्म राजदरबारको सवारी सिकारीमा ढोर, जसपुरका बाह्र भाइ लामछाने गुरुङहरुको संलग्नता रहेको पाइन्छ।अहिले सिकारी सुब्बा पतिराम गुरुङका खनाति एवं दुई हजार ढोरका महामुखिया मन्ध्वज गुरुङका पनाति किसन गुरुङ शुक्लागण्डकी नगरपालिकाका प्रमुख हुनुहुन्छ।
त्यसकारण राम्ररी ईतिहास केलाएर वंश परम्पराबाट चल्दै आएको र धान्दै आएको पुर्खाको पेशाको संलग्नता आदि प्रमाणको आधारमा ठहर गरेर वीर पुर्खाहरुको सम्मान गर्नु आजको हाम्रो दायित्त्व हो।
।। तथास्तु ।।

Facebook Comments

Related Posts

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि…

किराती सभ्यता को चिन्हारी: खुवालुङ

किरात समुदायका विभिन्न जातीहरु र्राई, लिम्बू, याक्खा, सुनवार आदिको मौलिक मुन्धुमहरुमा खुवालुङ को प्रशङ्ग जबरजस्त रुपमा आउँदछ । किरातीहरुको होमे, बिजुवा, फेदाङवा, पासुङ, यटाङवा, न्वाँसो, ग्यामी आदिले आफ्नोर् इष्ट शक्तिहरुको…

You Missed

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

Gufa Pokhari, Tinjure and Menchhayem hill

Gufa Pokhari, Tinjure and Menchhayem hill

यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

  • By RAISUJAN
  • November 15, 2020
  • 23 views
यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

किरात खालिङ राई र चुला

किरात खालिङ राई र चुला
error: Content is protected !!