RAISUJAN.COM.NP

Exploring new Places, Culture, Tradition, Health, Technology, Entertainment, & Ideas

फिरौती आंतकबाट उसलाई बचाउन सकिएन

२०५२ फाल्गुन १ गतेदेखि पुष्पकमल दाहाल (प्रचण्ड) पछि नेपालका प्रधानमन्त्री) को नेतृत्वमा साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले तत्कालीन संविधान र राज्य संरचनाविरुद्ध सशस्त्र विद्रोहको थालनी गरेका थिए ।  त्यसमा सहभागी हुने अधिकांश नेता कार्यकर्ताहरु साविक एमाले हाल सत्तासीन नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलित छन् । त्यसैका अर्का नेता डा.बाबुराम भट्टराई (पछि प्रधानमन्त्री) समेतका केही समूहले नयाँ शक्ति पार्टी स्थापना गरेका छन् । त्यस्तै मोहन वैद्य, सीपी गजुरेल एवं माओवादीकै सहयोद्धा नेत्रविक्रम चन्द (विप्लव)समूहहरु बेग्लाबेग्लै   कम्युनिष्ट पार्टीको रुपमा मुलुकभर क्रियाशील छन् । त्यसमध्ये विगत केही वर्षदेखि विप्लव समूहले हिंसा, बम विष्फोटन एवं चन्दा असुली आतंक मच्चाइरहेका छन् । गत महिना फाल्गुन १०, २०७५ मा ललितपुरको नख्खुस्थित दुरसंचार सेवा प्रदायक संस्था एनसेलको मुख्यालय अगाडि विप्लव समूहले बम विस्फोटन गरायो । त्यही विस्फोटनमा परी लमजुङका सिंहप्रसाद गुरुङ (४९) को अनाहकमा ज्यान गयो । अन्य दुईजना घाइते आयुषा मानन्धर र प्रतीक्षा खड्का उपचारार्थ छन् । आतंकको श्रृङ्खलालाई निरन्तरता दिदैँ फाल्गुन २४, २०७५ मा बसुन्धरास्थित वैदेशिक रोजगार संघको अध्यक्ष रोहन गुरुङ्गको घरमा विस्फोटन गरायो । त्यसमा पनि ४ जना सर्वसाधारणहरु घाइते भए ।

उल्लेखित दुवै स्थान तथा एनसेलका स्टेशनहरुमा बम विष्फोटन गराउनुका अभिप्राय चन्दा आतंकसँग सम्बन्धित भएको बुझिन्छ । विप्लवको भनाइमा चन्दा असुली गर्नु अधिकार हो रे । यतिखेर चन्दा, हिंसा र हतियारको आतंकबाट कतिपय स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न उद्योग व्यवसायहरु त्रसित देखिन्छन् । बुझ्नमा आएअनुसार जसरी २०५२ सालतिर प्रचण्डको दस्तखत भएको चन्दा असुली गर्नेबारेका चिठीहरु के धनी ? के गरीव ? के शिक्षण संस्था ? के चिया पसले ? अधिकांशको घरपसल र कार्यालयमा पुगेका देखिन्थ्ये । तीमध्ये जसले मागअनुसार चन्दा दिन सकेनन्, तिनीहरु विस्थापित भए । कतिका घरजग्गा कब्जामा लिइयो । त्यस्तै उग्र गतिविधि विप्लव समूहको देखिन्छ । त्यसैले साविक माओवादीसमेत रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले विप्लव समूहको गतिविधि नियन्त्रण एवं प्रतिवन्ध लगाएको छ । नेपाल प्रहरी अन्य सुरक्षा निकायद्धारा विप्लव समूहका नेता÷कार्यकर्ताहरुमाथि निगरानी बढाइरहेका छन् । बम विष्फोटन गराउने कार्यमा संलग्न व्यक्तिहरु केही पक्राउ परेका÷पर्दैछन् । राजनीतिक विश्लेषकहरु विप्लव समूहमाथि प्रतिवन्धभन्दा वार्ताद्धारा समाधान गर्ने सुझाव राख्छन् । वर्तमान सरकारको प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले चैत्र ७, २०७५ मा सरकारका निर्णयहरु प्रेस जगतलाई जानकारी गराउँदै ‘हतियार र हिंसा त्यागे वार्ता’ (दीपक श्रेष्ठ, हत्या र हिंसा त्यागे वार्ता, गोरखापत्र चैत्र ८, २०७५ ः १) हुन सक्ने अभिव्यक्ति दिएका छन ।

विगत २०५२ सालदेखि नै नेपाली जनता अपरहण र चन्दा असुलीका कारुणिक कथा÷व्यथाहरुबाट पीडित हुने भुक्तभोगीहरु असङ्ख्य छन् । पछि त्यही खाले सूत्र(फर्मुला) मधेशकेन्द्रित समूहहरुले पनि थालनी ग¥यो । फलस्वरुप ः तराईमा ३÷४ पुस्तादेखि बसोबास गरिरहेका कैयौं पहाडीमूलका मधेशे नेपाली विस्थापित हुन पुगे । उनीहरु आफ्ना घर, जग्गा जमीन कौडीको भाउमा बिक्री गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउछाउ वा काठमाण्डौं बसाइ सर्न बाध्य भए । तीमध्ये एकजना (हाल स्वर्गीय) प्रधानन्यायाधीशले पनि तराईका जग्गा बिक्री गरेर स्थानान्तरण भएको प्रसंग पंक्तिकारसँग गरेका थिए ।

चन्दा आतंकसँग जोडिएर अपहरणमा परेका एकव्यक्ति २०६१ सालको हिउँद महिनामा जसोतसो गरी अपहरणबाट मुक्त भएर पंक्तिकारसँग सम्पर्कमा आएका थिए । निज एक हुलाकका एक अस्थायी कर्मचारी थिए । जसको मासिक आय त्यसबेला हजार÷बाह्र सय मात्र थियो होला ? तर, निजलाई अपहरण गरी ४०÷५० हजार चन्दा मागिएछ । अस्थायी हुलाकीले त्यति ठूलो रकम दिन सक्ने अवस्था नै थिएन । अपहरणको केही दिनपछि जसोतसो उक्त व्यक्ति अपहरणकारीको बन्धनबाट छलेर भाग्न सफल भएछ । अपहरणपीडितलाई संरक्षणको लागि पंक्तिकारले  काठमाण्डौंतिर जाने सल्लाह दिएको थियो । काठमाण्डौं आउने सुरसारमा रहँदा रहँदैको अवस्थामा पूर्वपश्चित राजमार्गस्थित ढल्केबरमा राति सुतेकै ठाउँमा निजमाथि गोली हानिएछ । घाइते हुलाकीलाई त्यहाँका सुरक्षा निकायले उपचारार्थ सैनिक अस्पताल छाउनीमा पु¥याए । तर, निजलाई बचाउन सकिएन । २०६२÷६३ को  विद्रोहताका कफ्र्यु लागेको अवस्थाले गर्दा निजको आफन्तहरु ढल्केबरबाट काठमाण्डौं आउन सकेनन् । फलस्वरुप ः पंक्तिकारसमेत भएर  निज मृतक हुलाकीको जातीय परम्पराअनुसार स्वयम्भु, काठमाण्डौंमा सद्गत गराइयो । चन्दा आतंकको अपहरणबाट मुक्त भइसकेको त्यस अस्थायी हुलाकीलाई बचाउन नसकिएकोमा अझै दु ः खको अनुभूति हुन्छ । राजनीतिको नाममा त्यसबेलादेखि चन्दा, फिरौती, अपहरण र बम आतंकको त्रास भोगेका नेपाली जनताले अब भने त्यस्तो भोग्न नपरोस् । फिरौती बुझाउन नसकेको बहानामा कसैले ज्यान नजाओस् ।

–डा. चूडाबहादुर श्रेष्ठ