बेला बखतका कुरा- डा. जगमान गुरुङ

बेला बखतका कुरा- डा. जगमान गुरुङ

आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि माछाको शिर उँभोतिर फर्केको हुन्छ। भदौको १२ मा सगर गर्जेपछि खण्ड वृष्टि हुन्छ र खोलामा पानी घट्न थाल्छ। त्यसकारण भदौ १२ देखि माछाहरु ठूलो खोलातिर फर्कछन् र भदौ १२ देखि माछाको शिर उँधोतिर फर्केको हुन्छ। माछाको यो प्रकृति थाह पाएपछि मानिसले भदौ १२ देखि ठाडो खोलामा तिब( बाँसको कप्टेराको टाँड) थापेर माछा मार्दछन्।

भदौको १२, तिबको तारा, हरियो दुना, पहेँलो चोक्टा हुन मन लाए बस, होइन भने हिँड भाइ हो भनेर भदौ १२ देखि माछाहरु उँधो लाग्छन् भन्ने कहावत छ। तसैगरी भदौ १२ देखि हिमालबाट चिसो सिरेठो चल्न थाल्छ। भदौ ११ सम्म भेडाको टाउको उँभोतिर फर्केको हुन्छ।भेडाको मूली माउले हिमालबाट चिसो सिरेठो चल्न थालेको थाह पाउँछ र भदौ १२ देखि भेडाको मूली माउले उँधोतिर टाउको फर्काउँछ। भेडाको मूली माउले उँधोतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले एक कान्ला मुन्तिर गोठ सार्दछ। उँधौली भने कै त्यही हो।

माघमा आरु फुलेपछि वर्खा लाग्छ। फागुन १२ मा सगर गर्जेपछि धर्ती कम्लाउँछ र खेत बारिमा जोत चास गर्ने बेला हुन्छ।त्यसकारण फागुन १२ देखि बेसिको गोठ लेकतिर सार्न थालिन्छ। फागुन- चैतमा कय्राङ कुरुङ चरा दखिनबाट उत्तरतिर लाग्दछ। आकाशमा कय्राङ कुरुङ चरा उँभो लागेपछि धर्तिमा न्याउली चरा कराउन थाल्दछ। सर्पले कुरबाट टाउको बाहिर निकालेर आफ्नो दुइटा जिब्रो फट्कार्न थाल्दछ।भदौमा पैयुँ फुले पछि हिउँद लाग्दछ। साउन- भदौमा कय्राङ कुरुङ चरा उत्तरबाट दखिनतिर लाग्दछ। आकाशमा कय्राङ कुरुङ चरा दखिनतिर लागे पछि धर्तिमा झ्याउँकिरी कराउन थाल्दछ। गाड कुलो चल्ने बेसिका सिम खेतहरुमा जेठको २२/२३ देखिनै धानको रोपाइँ गर्न सकिन्छ। असारको १६ गतेदेखि पृथ्वीको उत्तरी गोलार्द्धमा घाम छड्के पर्दछ र भूइँको तापक्रम सेलाउन थाल्दछ। त्यसकारण असार १५ मा खले गरो रोपिसक्नु पर्छ। त्यसपछि असार महिना भरमा धानको रोपाइँ सकेर साउने संक्रान्तिमा लुतो फाल्नु पर्दछ। साउन महिना भरि झरी बादल हुनुपर्छ।साउनमा झरी बादल भयो भने टारी खेतमा भल छोपुवा गरेर रोपेको धानले पनि पानी पाउँछ। भदौ लागेपछि झरी बादल हुनुहुदैन। घाम पानी – घाम पानी हुनुपर्छ।घाम पानी भयो भने घामको तापले धानको गांज भरिलो हुन्छ। त्यसकारण साउन झरिलो, भदौ भरिलो भन्ने कहावत छ। असोजको पहिलो सारादेखि धानले फूल खेल्न थाल्छ। धानको फूलको वास्न र भात ओथिएको वास्न उस्तै उस्तै हुन्छ। धानले फूल खेल्ने बेलामा हावा हुरी र झरी बादल हुनुहुँदैन। हावा हुरी र झरी बादल भयो भने धान भुसिन्छ। असोजको १०/१२ देखि धान दुधिलो हुन्छ। असोजको २०/२२ देखि धानमा चामल पसिसक्छ। चामल पसेपछि धानको बाला नुहिन्छ र धान झुल्न थाल्दछ। कात्तिकको १०/१२ देखि धान पहेँलो पहेँलो हुन थाल्दछ। कात्तिकको २२/२३ सम्म ता धान पहेँलपुर भएर पाकिसक्छ।

जहाँ गोबर त्यहाँ दोबर भन्ने कहावत छ। भैंसिको मल भन्दा गाईको मल पोसिलो हुन्छ। त्यसकारण हिउँदभरि गाईको गोठले मलेको खेतको धान रसिलो र पोसिलो हुन्छ। नाश भएर जाने वस्तु क्षत हो।नाश भएर नजाने वस्तु अक्षत हो। त्यसकारण कुल पितृ , देवी देवता, नाग नागिनी र अयँर भयँरलाई शुद्ध मनले चढाएको शुद्ध भूमिमा उब्जाएको अशल धानको चामल अक्षता कहलाउँदछ।अन्न ब्रह्म हो।अन्नाद्वै प्रजा प्रजायन्ते। अन्नबाटनै प्राणीहरु जन्मन्छन् । अन्न भैषज्य – औषधि हो।अत: अन्न खाएर नै प्राणीहरु बाँच्दछन् । प्राणीको देहान्त भएपछि उसको सत्ता अन्तरिक्षमा पुग्दछ। अन्तरिक्षबाट पर्जन्य अथवा वर्षातको पानीसंग संगै प्राणीको सत्ता फेरि यस मर्त्यमण्डलमा वर्षन्छ र प्राणीको सत्ताले अन्न र फलफूलको कोषिकामा प्रवेश गर्दछ। प्राणीले ती अन्न र फलफूल खान्छन् र त्यसपछि फेरि प्राणीले जन्म लिन्छ।यो क्रम नै प्राणीको भवचक्र हो।यी कुराहरु कुनै बकम्फुसे गफ होइनन्।प्रकृति , प्राणी, अन्न, वनस्पति , खगोल-भूगोल र त्यस सम्वन्धी मानिसका तीक्ष्ण ज्ञानका अनुपम नमूना र तत्त्वविज्ञान हुन्। यी अनुसन्धेय विषय हुन्। अत: यी कुराहरुको बातै पिच्छे एक एकवटा विद्यावारिधि अनुसन्धान हुनसक्छ।।

FB: https://www.facebook.com/drjagmangurung

Facebook Comments
  • Related Posts

    Province no 1 name entitled ‘Kirant’ प्रदेश नो १ को नाम किराँत अधिकारिक र उपयुक्त हो।

    Kirant is an ancient people with flourishing traditional and cultural era. Property elevate poverty so it is better to keep name Kirant Province than Koshi and Sagarmatha. Because there are…

    Gold convert in Nepal | सुनलाई ग्राम, आना र लालमा परिबर्तन गर्नुहोस

    Given below are the conversion charts to convert between Nepali units of measurement and to the metric system. Area Measurement in Nepal 1 Dam 21.39 sq. ft.1.99 m2 1 Paisa 4…

    You Missed

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला

    “राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

    “राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन
    error: Content is protected !!