‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली)

सम्पदा

‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली) सम्भावित किरातकालिन पवित्र स्थल र नदी प्राचीन किरात संस्कृति र धर्ममा गोसाइँकुण्ड र त्रिशुली नदीको महत्व अध्ययनार्थ चिनको उच्चाधिकारी सोङ युनको चित्र र नेपाल-तिब्बत-चिन युद्ध सम्बन्धी तत्कालिन नेपाली राजकिय चिठी पत्रहरु धेरै महत्वपूर्ण रहेको छ । सोङ युन सन् १७९४ देखि १७९९ सम्म चीनको निम्ति चीनको दुई सम्राटहरु छियानलोङ र च्याछिङको शासनकालमा तिब्बतमा High Commissioner थिए । यस नक्सामा देखाइएको स्थलहरुको नामहरु क्रमशः यस प्रकार छन् : १ जिलोङ/किरोङ (हालको केरुङ) २ सिषिन ३ रेसोछिआओ/प्याटृकको अनुसार रुसूवा/हालको रसुवा । ४ बाउदमु (सम्भवत: बिर्दिम/बुर्दिम) ५ सिएबुलु/डा. रेग्मीको अनुसार स्याप्रुक ६ गेदुओ ७ दोङ्च्याओ माह्वाङ हिमाल ८ छाङ हिमाल ९ योङ या १० बाइगुओमो ११ दुइबुमु/प्याटृकको अनुसार धिबुन/डा. रेग्मीको अनुसार धाइबुङ । १२ बेलाङ्गु १३ बलेबुजोङ १४ पोजोङला हिमाल १५ जिएर्गेली हिमाल १६ बाउदमु……. यस चित्रमा उल्लेखित ‘धिबुन/धाइबुन’ (हालको गोसाइँकुण्ड), ‘माह्वङ’ नदी (हालको त्रिशुली नदी), ‘दोङ्च्याओ/धुन्च्यो’ हिमालको नामहरु धेरै महत्वपूर्ण छ । यी नामहरु नेपाल-तिब्बत-चिनबीच भएको युद्ध सम्बन्धि खश भाषामा लेखिएका चिठी पत्रहरुमा पनि उल्लेख भएको छ । त्यो युद्ध हुँदा सम्म गोसाइँकुण्ड र त्रिशुली नदीको नामकरण खश भाषामा भैसकेको थिएन । गोसाइँकुण्डलाई पहिले धिबु भनिन्थ्यो । किरात भाषामा ‘दि/धि/ढि’ को अर्थ ‘ठूलो’ र ‘बू/बुन’ को अर्थ ‘मूलपानी’ हुन्छ । ‘बू/बुन’ ले कुनै पनि कुराको उद्गम स्थललाई जनाउदछ । यसको अर्थ ‘पेट/भुँडी’ (मानव गर्भस्थल), ‘खानी’ (धातु आदिको गर्भस्थल) ‘भाडो’ (खाद्य गर्भ) पनि हुन्छ । ठूलो जल राशिको उद्गम स्थल भएकोले गोसाइँकुण्डको पहिले ‘धिबु’ नामकरण गरिएको हुन सक्दछ । पाटन कुम्भेश्वरलाई पनि पहिले ‘धिबु’ भनिन्थ्यो । त्यहाँ ठूलो हिटिधाराहरु छन् । त्यहाँको हालको खश मूलका पुजारीकानुसार पहिले त्यहाँ किरात पुरोहितहरुद्वारा (नक्सो/नाक्छुङ, दोवा/दोमा, कुबि आदि) नागदेवता सँग बल माग्ने चलन थियो । स्थानियहरुको बिश्वासमा त्यहाँको पानी गोसाइँकुण्डबाट आएको हो । कुम्भेश्वर र गोसाइँकुण्ड दुवैलाई ‘धिबु’ भनिनु र गोसाइँकुण्डकै पानी कुम्भेश्वरमा उम्रेको हो भनी भनिनुले यी दुईको सांस्कृतिक र धार्मिक सम्बन्ध पक्कै नै थियो भन्ने देखिन्छ । यहीँ कुम्भेश्वरको पश्चिम दुई मिनटको दूरीमा किरात राजा पटुकको दरवारको ढिस्को छ । कुम्भेश्वरको दक्षिण र ‘पाटुक ओदोन’ (क्वाल्खु) को पूर्व दक्षिणमा त्यतिनैको दूरीमा ‘च्यासल’ नामको पुरानो बाक्लो बस्ती भएको चोक छ । च्यासलमा आठ सय किरातहरुलाई काटी मारेका थिए । त्यसरी मार्दा प्रयोग भएको तरवारलाई त्यहाँ भएको एक इनारमा पखालिएको थियो । त्यसकारणले सो इनारको पानी पिउने चलन पहिले थिएन । काठमाडौ-नुवाकोट-धुन्छे-स्याप्रुबेसी सडक निर्माण हुनु पूर्व जितपुर- नुवाकोट डाँडाको पूर्व हुँदै धिबु (गोसाइँकुण्ड) जाने चलन थियो । गोसाइँकुण्ड पछि मात्र माह्वङ (त्रिशुली) नदी र ‘धिबुन्चो’ हिमाल भेटिन्थ्यो । तर आजभोलि भने धाइबुङ र धुन्चे नाम गरेको बस्तिहरु पहिलेको भन्दा तल सडक खण्डमा बसेको छ । त्यसो हुनाले यस चित्रमा भनिए अनुसार ‘धिबु’ नामको पानीको उद्गम र ‘धिबुन्चो’>’धुन्चो’ नामको हिमाल ती ठाउँहरुमा पाउन सकिँदैन । माह्वङ नदी र धिबु किरातहरुमा पूज्य थियो होला । श्रावण महिनाको पूर्णिमाको दिन सबै किरात पुजारीहरु (नाक्छुङ, दोवा, कुबि, येबा, फेदाङ्वा) हिमाल अथवा लेकमा रहेको मूलपानीमा गई नागदेवता सँग बल माग्ने परम्परा अद्यपि छँदैछ । पूर्वमा साल्पापोखरी र साप्सु खोला शिर यसैको निम्ति प्रख्यात स्थलहरु हुन् । ‘माह्वङ’ नाम आफैले पनि यो नदीलाई पहिले पबित्र नदीको रुपमा लिइएको थियो भन्ने देखाउदछ । किरात राईहरु खोला नदीलाई ‘खु’, ‘खुवा’, ‘होङ्कु’/’ह्वाङ’, ‘रि’ आदिले जनाउदछन् । माह्वङ शब्दको ब्युत्पत्ति ‘मा’ (आमा) र ‘ह्वाङ’ (नदी) मिली भए झै लाग्दछ । स्मरणीय छ ‘धिबुन्चो’>’धुन्चो’ हिमाल छेउ बाट माह्वङ (त्रिशुली) खोलालाई बायाँ पारी डाँडै डाँडा झर्दा अथवा हाल भएको धुन्चे नामको ठाउँ (रसुवा जिल्लाको सदरमुकाम) बाट माह्वङ (त्रिशुली) खोलालाई दायाँ पारी धिबु (गोसाइँकुण्ड) जादा केही होटलहरु भएको ‘चोलाम पाटी’ नाम गरेको स्थल आउँछ । सम्भवत: यसको अर्थ ‘चो’ (शिखर अथवा हिमाल) तिर जाने ‘लाम’ (बाटो) हो ।

निनामहाङ वान्तवा

Facebook Comments