
चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो ! उनी भन्छन्: “म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें। जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो। मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— “प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।” अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले मलाई भन्नुभयो, “प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज?” यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, “प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।”

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउचाऊ पकाउनुभयो— एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो—”प्रिय पुत्र,चाउचाउको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ?” यसपटक मैले बाबुलाई भनें— “बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।” मेरा बाबुले नाई-नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— ‘पक्का पनि यसपटक मैले अण्डा गुमाएँ !’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें ! मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, “प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।” त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु। “ *(द्रष्टव्यः यो कथा इन्टरनेटमा उपलब्ध अङग्रेजी स्रोतबाट नेपालीमा अनुबाद गरिएको हो!) Src: Fb wall