संसारको प्राचिनतम सुमेरियन सभ्यतामा लगभग पाँच हजार वर्ष पूर्व पूजा अनुष्ठानमा प्रयोग गर्ने सामग्रीहरुको चित्रहरु कोरिएको फलक ।

सम्पदा

संसारको प्राचिनतम सुमेरियन सभ्यतामा लगभग पाँच हजार वर्ष पूर्व पूजा अनुष्ठानमा प्रयोग गर्ने सामग्रीहरुको चित्रहरु कोरिएको फलक ।

यो फलक हजारौं वर्षसम्म जमिनको सतहभन्दा मुनि बालुवाले पुरिएर रहेको थियो । यसलाई प्राचीन सुमेरियन मन्दिर, वस्ती र दरवारको उत्खनन गर्ने क्रममा प्राप्त गरिएको हो । सुमेरियन सभ्यता आजकलको इराक देखि पञ्जाव क्षेत्रसम्म फैलिएको थियो । उनीहरुको आराध्यदेवी ‘निनाम्मा’ किरातहरुको ‘निनाम्मा’ प्रतित हुन्छ । सुमेरमा एक ‘दुमुजी’ नामका पशुधनका देवता-राजा थिए । किरातहरुमा प्रयोग हुने शब्द ‘दुमो’ सँग यसको सम्बन्ध हुन सक्दछ । त्यहाँ ‘निन्तुु’ नाम गरेकी एक कृषि अथवा अन्नधनकी देवी पनि थिइन् । ‘निन्’ ले किरात भाषामा ‘स्त्री’ जनाउदछ । यो स्त्री जनाउन यसको प्रयोग नामान्त र नामको प्रारम्भमा गर्ने गरिन्छ । राई, याक्खा र लिम्बूहरु ‘बाली पाक्नु’ को निम्ति ‘तुम्मा’ शब्द प्रयोग गर्दछन् । यस आधारमा अन्नधनकी देवी ‘निन्तु’को नाम किरात भाषाबाट राखिएको थिएन भन्न सकिन्न । सुमेरियनहरुका देव तथा पितृगणमा प्रथम स्थान ‘एनलिल’ को पर्दछ । सम्पूर्ण सुमेरियन राज्यहरु एरेक, बोर्सिप्पा, निप्पुर आदिका इष्टदेवताका पनि उनी पिता मानिन्थे । उनी वायु देवता मानिन्थे । त्यस पछि ज्ञानका देवता ‘एन्कि’ दोश्रो स्थानमा आउदथे । उनको नाम किरातहरुको एक आदि पुर्खा ‘हेन्कु(बुङ)’ र पृथ्वी अर्थी शब्द ‘हेन्खामा’ सँग तुलनिय छ । ‘हकार’ र ‘अकार’ बीचमा अभेद्यता रहेको थुप्रै उदाहरण छ । यता भाषाविदहरुको ध्यान जान आवश्यक छ ।

युफ्रेटस नदी र टिगृस नदी बीचको भूभागमा त्यसबेला ‘निप्पुर’, ‘बोर्सिप्पा’, ‘एरेक’ आदि नामका नगरहरु थिए । ‘निप्पुर’ त सुमेरियन सभ्यताको केन्द्र नै थियो । सम्भवत: यही ‘निप्पुर’ नामको नगरबाट स्थानन्तरण भै आएका हुनाले किरातहरुलाई चिनियाहरुले ‘निपोअर रन’ भनेका थिए । आज पर्यन्त नेपाललाई चिनियाहरु ‘निपोअर’ भन्ने गर्दछन् । भाषा बिज्ञान अनुसार ‘र’ र ‘ल’ मा अभेद्यता रहन्छ । यसानुसार ‘नेपाल’ र ‘निप्पुर’ को ध्वनी निकटता देखिने नै भयो । यस हिसाबले ‘नेपाल’ देश नामकरणको आधार किरातहरुको पूर्वस्थल हुनसक्दछ न कि ‘ने’ नामको ‘मुनी’ द्वारा पालित हुनु । सम्भवत: ‘नेपाल’ ‘निप्पुर’ अथवा ‘निप्पोर’ को संस्कृत भाषाको हिज्जेमा ढालिएको नाम हो । प्राचीन संस्कृत ग्रन्थहरुमा यो नामको उल्लेख नपाइनु तर पछिल्लो कालमा लेखिएका भाषा बङ्शावली र केही १६औं शताब्दी यता लेखिएका पुराणहरुमा मात्र उल्लेख पाइनुले पनि यस्तै देखाउदछ । अझ नेपालमा ठूलो संख्यामा रहेका खसहरु त इसाको एघारौं शताब्दी पश्चातमात्र नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा उनीहरुकै बङ्शावलीले प्रष्ट पार्दछ ।

माथि उल्लेखित ‘बोर्सिप्पा’ नगरको नाम किरात राईहरुको ‘ब्रास्पा’ नाम गरेको एउटा ‘सामे’ सँग ध्वनी निकटता राख्दछ । यो कुरा पनि विशेष उल्लेखनिय रहेको छ ।

युफ्रेटस नदीले बगाई ल्याएको माटोको लेदोको फलकमा लेखिएका इ. पू. ३००० देखि इ. पू. १७०० सम्मका सयौं अभिलेखहरु प्राप्त भएका छन् । ती मध्य केही सुमेरियन धर्म, पूजा अनुष्ठान र देवी देवता सँग सम्बन्धित छन् । सुमेरियन मिथक अनुसार सर्वप्रथम ढोल अथवा ढ्याङ्रो र त्यो बजाउन प्रयोग हुने गजा बनाउन ‘हुलुप्पु’ नामको एक बृक्षको प्रयोग गरिएको थियो । उक्त बृक्षको नाम किरात राई भाषामा ‘होलोप्पो’ (लाम्पाते) भनिइने वृक्षको नाम सँग ध्वनी निकटता राख्दछ । खस भाषामा ‘लाम्पाते’ भनिइने वृक्ष किरातहरु ढोल बनाउन प्रयोग गर्ने गर्दछन् ।

यस फलकमा ‘चिन्डो’ र ‘हँसिया’ स्पष्ट छुट्टाउनु सकिन्छ । ‘चिन्डो’ मा सम्भवत: ‘केराको पात’ राखिएको छ । ‘हसिया’ र ‘चिन्डो’ को बीचमा सम्भवत: भुइँमा राखिएको अक्षेता र अधुवाको टुक्रा सहितको पात रहेको छ । तलको चित्र र माथिको दाँयापट्टिको चित्रमा देखिएको वनस्पति अधुवाको बोट हुनसक्दछ । ‘चिण्डो’, हसिया, अधुवा (बोट तथा जरा दुवै), अक्षेता, केराको पात, कोदोको रक्सी, जाँड आदि सबै आज पर्यन्त किरात पुरोहितहरुले प्रयोग गर्दै आएका छन् । यी त्यस्ता वस्तुहरु हुन् जुन विना कुनै किरात पूजा, अनुष्ठान र संस्कार पूरा हुदैन ।
निनामहाङ वान्तवा

Facebook Comments