सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल

प्रयटकिय-गन्तब्य

नेपाल विश्वका मानिसले स्वर्ग भनेर कल्पना गर्दा भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ ।

प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाकमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे ताल कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।

चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।

वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।

यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले बरदान दिएको ठाँउ हो । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन । बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित छ ।

तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै कष्टकर छ । परम्परागत कृषि पेशामा आधारित यहाँको आर्थिक प्रणाली सुधार उन्मुख छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता छ ।

सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर भूमि मानिन्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट यहाँ आउने गर्दछन् । तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा छ ।

खैराबाङ
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं।११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्छ । मख्यगरी शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन गर्नेहरुको भीड हुन्छ ।

फलाबाङ दरबार
यो सल्यानको धरोहर फलाबाङ दरबार हो । जिल्लाको फलाबाङ गाबिसमा पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएको दरवार अहिले राज्यवाट संरक्षण पाउन नसक्दा अस्तित्व नै मेटिन लागेको छ । विं।सं।१८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ ।

जनयुद्ध ताका दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो । दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्राचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ । साभार

Facebook Comments