नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, न्यूनतम तलब दुई लाख रुपैयाँ

मनोरञ्जन

काठमाडौं, ११ चैत । नेपाल र जापानबीच आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी आज सहकार्यको समझदारीमा हस्ताक्षर भएको छ ।

ललितपुरस्थित होटेल हिमालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा दुई देशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्।

एमओसीमा हस्ताक्षरपछि बोल्दै मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको बताउँदै यो समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरे । कामदार संकट गहिरिएपछि जापान सरकारले नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ । समझदारीपत्रमा भाषा परीक्षामार्फत जापान जाने कामदारलाई न्यूनतम दुई लाख रुपैयाँ तलब दिइने उल्लेख गरिएको छ ।

नेपाली कामदारले १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा काम पाउने छन् । पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् । भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । नेपाली श्रमिकहरुलाई प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिक ले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुनेछ’ श्रम मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए ।

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर)को पहिलो र दोस्रो वर्गका कामदार लिनेछ । पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँने छन् ।

यस्तै दोस्रो वर्ग (एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ ।

रिपोर्टर नेपाल समाचार

Facebook Comments