अग्लो छाँगा, ढुङ्गाभरि नागको सेतो चित्र । छाँगाबाट छरर झरेको पानी । वरिपरि हरियाली, चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज । नजीकै मनमोहक तर, डरलाग्दो गोल्माराजा गोल्मारानी भिर ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल नागछाँगाले सबैको मन लोभ्याउँछ । यो स्थानमा पुग्ने सबैको ध्यान छाँगामा रहेको नागको चित्र मै जान्छ । ढुङ्गा भरि जेलिएको नागको चित्र देखेर जो कोही पनि अचम्मित हुन्छन् । यद्यपि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा छ । यसको महत्व बिर्सेर झरना माथिको पानी वस्तीमा वितरण गरिँदा यसको प्राकृतिक स्वरुपसमेत बिग्रँदै गएको भान हुन्छ ।
वर्षात्मा छाँगामा ठूलो पानी झर्ने गरेको भए पनि हिउँदमा भने पानी सुक्दै गएको छ । यो छाँगा गाउँपालिका केन्द्र बैकुण्ठेबाट १० किलोमिटर दूरीमा रहेको छ जहाँ पुग्न कच्ची सडक पनि निर्माण गरिएको छ । छाँगा वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमानामा अवस्थित छ । यहाँ विभिन्न समयमा मेला, महोत्सव र पूजाआजा समेत हुने गरेको छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर, नजीकै रहेको गोल्माराजा गोल्मारानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग भागेको किम्वदन्ति रहेको स्थानीय पुजारी जयप्रसाद निरौलाले बताउनुभयो ।
निरौलाले भन्नुभयो – “यो स्थानको धेरै ठूलो धार्मिक महत्व छ । यसको सम्बन्ध यहाँ नजीकै रहेको गोल्माराज गोल्मारानी भिरसँग पनि जोडिएको छ । राजारानीले नै सुरक्षाका लागि यहाँ नाग राखेको किम्वदन्ति छ यहाँ परापूर्वकालमा नाग नै बस्थ्यो रे ।” उहाँले भन्नुभयो – “गोल्माराजा गोल्मारानी भिरमा परापूर्वकालमा बिहेको जन्ती लिएर आउने क्रममा सबैजना त्यही अलप भएको किंवदन्ति छ । यहाँका ढुङ्गाहरुमा पञ्चेबाजामा प्रयोग हुने नरसिंहा, दमाहा, सनही र लहरै जन्ती हिँडेको जस्तो चित्रसमेत हेर्न सकिन्छ भने ढुङ्गामै गाईको नक्शासमेत रहेको छ । यो पनि एउटा धार्मिक स्थल हो ।” छाँगा रहेको ठाउँसम्म पुग्न गाउँपालिका र तत्कालीन जिल्ला विकास समितिले आवतजावत गर्न गोरेटो बाटोसँगै केही संरचना निर्माण गरेको छ ।
पवित्र तीर्थ स्थलसँगै पयर्टकीय क्षेत्र पनि रहेकाले यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । अहिले विभिन्न जिल्लाबाट दर्शानार्थी आउने गरेका छन् । यसलाई संरक्षण गर्न सकिए गाउँपालिकाको आर्थिक स्रोत बढ्ने स्थानीयवासी बताउँछन् । यो स्थानमा नयाँ वर्ष, फागु पूर्णिमा, माघे सङ्क्राति लगायत विभिन्न चाडपर्वको अवसरमा मेलासमेत लाग्ने गरेको छ । स्थानीयवासी उत्तम राईले भन्नुभयो – “यो हाम्रो गाउँपालिकाको मुख्य तीर्थ स्थल हो । केही विशेष छ होला र त प्रसारप्रसार नभए पनि विभिन्न जिल्लाबाट भक्तजनहरु आउँछन् ।”
स्थानीय तहले संरक्षणमा ध्यान दिए पनि उच्च तहमा पुगेका मानिसहरुले यसको महत्व बुझ्न नसकेको राईले बताउनुभयो । उच्च तहबाट विकास विस्तारमा पहल गरे यसले धेरै महत्व पाउने राईको भनाइ छ । उहाँले भन्नुभयो – “यो गाउँपालिका राष्ट्रपतिको जन्मभूमि पनि हो, यहाँका धेरै मानिसहरु देशको उच्च तहमा पनि पुगेका छन् तर, उहाँहरुले यसको विकासमा त्यति धेरै चासो राखेको देख्दिनँ । यो हाम्रो दुर्भाग्य हो ।” यस ठाउँको प्रवद्र्धनका लागि गाउँपालिकाले काम गरिरहेको छ । केही संरचनाहरु निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष विजय राईले भन्नुभयो – “यो हाम्रो गाउँपालिकाको निकै ठूलो सम्पत्ति हो । यसको बृहत्तर विकासका लागि डिपिआर तयार गरी विज्ञलाई ल्याएर काम अगाडि बढाउने तयारीमा छौं ।
आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सोचमा छु ।” राईले गाउँपालिकाका अन्य पर्यटकीय क्षेत्र बहेरेश्वर मन्दिर पामखाङ्ग भञ्याङ्ग, चुलाचुली गुफालगायतका स्थानको पनि गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “यो सँगै अन्य पर्यटकीय क्षेत्रको पनि विकास गर्ने सोचमा छु । कतिपय ठाउँमा काम पनि भइरहेको छ । यसले गाउँपालिकालाई केही न केही आर्थिक सहयोग पुग्छ ।” गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरिसकेको छ ।
विगतमा छाँगाको महत्वलाई नबुझेर शिरको पानी वस्तीमा वितरण गरिएकाले त्यसको व्यवस्थापनका लागि काम भइरहेको गाउँपालिका उपप्रमुख सम्झना राईले बताउनुभयो । उपप्रमुख राईले भन्नुभयो – “झरनामा आउँदै गरेको पानी वस्तीमा वितरण गरिँदा यसको प्राकृतिक स्वरुप बिग्रँदै गएको छ । नजीकै रहेको अर्को खोलाको पानी लगेर छाँगामा खसाल्ने तयारीमा हामी जुटेका छौ ।” विगतमा जसरी काम भएको भए पनि स्थानीय सरकार आएपछि छाँगाको विकासलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको छ ।
अबका दिनमा अन्य भौतिक संरचना तयार गरेर जाने गाउँपालिकाको सोच छ । राईले भन्नुभयो – “विगतमा जसरी काम भए पनि हामी निर्वाचित भएर आएपछि धेरै काम भइरहेको छ । आगामी दिनमा यसको महत्व उजागर गर्न प्रचारप्रसारमा पनि ध्यान दिने सोचमा छौं ।” यो गाउँपालिकाको निकै गलितो सम्पत्तिको रुपमा स्थापित हुनसक्ने अर्का स्थानीयवासी रोहिणी प्रसाद भट्टराईको भनाइ छ । छाँगाको विकासमा स्थानीय जनता र सरोकारवाला निकाय एकजुट हुनुपर्ने उहाँ ठान्नुहुन्छ । राईले भन्नुभयो – “वास्तवमा यति धेरै महत्व बोकेको क्षेत्र नेपालमा कमै मात्र छन् । यो के कारणले ओझेलमा प¥यो त्यसतर्फ सोच्न आवश्यक छ ।
उचित प्रचारप्रसार र विकास गर्न सकिए यो स्थल नेपालसँगै विश्वमा चिनिन्छ ।” यसको नजीकै रहेको गोल्माराजा गोल्मारानी भिरको पनि धार्मिक महत्व उजागर गर्न सकेमा झनै राम्रो हुन्छ जुन स्थलको अवलोकन गरेपछि जो कोही अचम्म हुन्छन् । यो क्षेत्र पनि ओझेलमै छ । यो स्थल सरमुकामबाट करीब एक दिनको पैदल दूरीमा छ । यहाँ पुग्न अहिले छाँगा भएको ठाउँभन्दा करीब १०० मिटर तलसम्म गाडी पुग्छ । छाँगा करीब ६० मिटर अग्लो छ । खबरसंसार










