बराहपोखरी बिशेष आस्था बोकेको गन्तब्ये

नयाँ-ठाउँहरू

पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । बराहपोखरी नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ ।

चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ ।

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ ।

बराहपोखरी पुग्न दिक्तेलबजारदेखि पैदल यात्रा गर्दा दुई दिन लाग्छ । दिक्तेल, टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोला तरेपछि करिब तीन घण्टामा बराहपोखरी पुगिन्छ । उदयपुरबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाध हुँदै बराहपोखरी पुगिन्छ । भोजपुरबाट पाँचधारे हुँदै चिसापानी छिचोलेपछि त्यहाँ पुगिन्छ ।

बराहपोखरीस्थित स्थानीय शैलीका होटलहरु प्रशस्त रहेकाले त्यहाँ बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुल लगायतका परिकारहरू प्रशस्तै पाइन्छन् । बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी मन्दिर जोडी परेवा उडाउनाका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ ।

बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने पनि जनविश्वास छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले यहाँ आएर पूजापाठ गरे सन्तान पाइने जनविश्वास छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने यहाँको मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शत्बीज छर्ने प्रचलन पनि रहेको छ ।

Facebook Comments