बिबिसि । हालै सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको हो।
मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे। तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्।
न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा लागि ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए। सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो।
छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए।
दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखिएको थियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो।
अध्ययनमा सहभागी भएका व्यक्तिलाई उनीहरूले विभिन्न छ प्रकारका च्याउहरू ( ओइस्टर, शिटाके, ह्वाइट बटन, ड्राइड, गोल्डन र टिन्ड) कति चोटि खाए भनेर सोधिएको थियो।
च्याउ खानेहरूले मस्तिष्कसम्बन्धी जाँचमा राम्रो परिणाम ल्याएका थिए। उनीहरूको मानसिक प्रक्रियाको गति पनि छिटो भएको पत्ता लाग्यो।
अनि यस्तो परिणाम विशेष गरेर हप्तामा दुई चोटिभन्दा बढी अर्थात् कुल तीन सय ग्राम च्याउ खानेहरूमा पाइएको थियो।
अनुसन्धानकर्ताहरूले च्याउ अर्गोथायोनिन नामक एन्टिअक्सिडन्ट र एन्टिइन्फ्ल्यामटरी गुण भएको तत्त्वको ठूलो स्रोत भएको इङ्गित गरेका छन्। सो तत्त्व मानिसको शरीरमा आफैँ बन्दैन।
च्याउमा भिटामिन डी, सिलिनियम र स्पर्मिडिन जस्ता महत्त्वपूर्ण पोषक तत्त्व र खनिज पदार्थ पनि हुन्छन्।