एतिहासिक र प्रेमको प्रतिक रानीमहलको इतिहास

प्रयटकिय-गन्तब्य

तिर्थस्थल कालिगण्डकी किनारस्थित एकसय एक्काइस वर्ष पूरानो ऐतिहासिक, पुरातात्विक र वास्तुकलाको नमूना सम्पदा रानीमहलको जग्गा व्यक्तिहरुले निजी बनाइसकेका छन् । रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्ला एवं लुम्बिनी र गण्डकी अञ्चलको संगममा अवस्थित छ । यही रुरुक्षेत्रको महत्वपूर्ण सम्पदा हो रानीमहल । यसको लामो समयसम्म संरक्षण र प्रबद्र्धनको लागी ठोस पहल नभएकाले यसको जग्गा अतिक्रमित भएको छ । अहिले महलको जीर्णोद्धार कार्य तिव्र गतिमा चलिरहेपनि गुठीको जग्गा खोजी र संरक्षणका लागी ठोस पहल भएको छैन ।

रानीमहल संरक्षण तथा पर्यटन विकास समितिले यसको जग्गा खोजी कार्य गरिरहेको समितिका अध्यक्ष देविप्रसाद भट्टराईले बताए । उनले भने –‘यसको वरीपरीको जग्गा व्यक्तिहरुले धनिपूर्जा बनाईसकेको पाएकाले किनवेचमा रोक लगाउने निर्णय भएको छ, अरु गुठीको जग्गाको आयस्ताको प्रमाणपुर्जा भेटिएपनि जग्गा भेटाउन कठिन भयो’ । तथापी सबै जग्गा खोजी गरी संरक्षण गर्ने अठोट उनले प्रकट गरेका छन् । महलको जिर्णोद्धारकार्य पनि केही वर्षदेखि तिव्र गतिमा चलिरहेको उनले बताए ।

भगवान राधाकृष्ण र भारतको आग्रास्थित ताजमहलका संस्थापक मुस्लिम सम्राट जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेम कहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनि जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए । यसको वुर्जामा रानी तेजकुमारी शरणम भनि लेखिएको शिलालेख छ ।

समितिका अनुसार मालपोतको अभिलेखमा खड्ग शमशेरले महल परिसरको खड्गमुक्तेश्वर शिवालय मन्दिर सुसंचालनको लागी पाल्पा माडी फाँटको भैंसीकट्टा ढकालेमा मोही शिवराम अर्याल र कुलप्रसाद पचभैयाले कमाएको जग्गाबाट वार्षिक ३ मुरी धान प्राप्त गर्ने व्यवस्था मिलाएको प्रमाण छ । यो क्षेत्रमा अरु पाखो जग्गा समेत गुठी भएको जनश्रुति समेत छ ।

त्यस्तै अर्गलीको आँटेटारीमा कुश्माखर पाण्डे र मोतीलाल पाण्डे मोही भएको जग्गाबाट वार्षिक १८ मुरी १० पाथी धान प्राप्त हुने प्रमाण भेटिएको छ । पूर्वीपाल्पाको बहादुर गाविसमा पनि गुठी भएको बुझिएको छ ।

माओवादी सशस्त्र युद्धकालमा राणाकालको पश्चिम नेपालको मुख्य प्रशासनिक केन्द्र एवं हालको पाल्पा जिल्लाको प्रशासन कार्यालय तानसेन दरबार ध्वस्त पारिएकाले कागजात नष्ट भएकाले जग्गा खोजीमा समस्या भएको छ । मालपोत र नापीको अभिलेखबाट पत्ता लगाउन प्रयास भईरहेको छ । रानीमहलले ओगटेको जग्गाको क्षेत्रफल तोक्न समेत अतिक्रमणको कारण कठिन भएको छ ।

गुठीको आयस्ता प्राप्त हुन छोडेपछि मन्दिरको पूजा गर्ने, फूल टिप्ने र बाजागाजा बजाउने समूहले काम गर्न छोडेको धेरै वर्ष भयो । अहिले जिविस र गाविस मिलेर वार्षिक रु.६० हजार पारिश्रमिक दिने गरी हेरालु राखिएको छ ।

१९५४ सालमा बनेको यो महलको संरक्षण र पर्यटकीय विकास कार्यमा २०५५ सालपछि मात्र सरकार र स्थानियको ध्यानाकर्षण भएको हो । राणाशासनको अन्त पछि उपेक्षाले खण्डहर बनेको थियो । स्थानिय, पर्यटन मन्त्रालय र पुरातत्व विभागको सहकार्यमा जिर्णोद्धार भईरहेको छ । अहिलेसम्म साढे तिनकरोड रुपैयाँ भन्दा बढी लगानी भईसकेपनि भ्रष्टाचारले लगानी अनुरुपको काम भएको छैन । तिनवर्ष भीत्रमा जिर्णोद्धार र त्यहाँपुग्ने ९ किलोमिटर सडकको कालोपत्र पूरा गर्ने लक्ष्य छ ।

महल पश्चिम नेपालका जनताले ईटा बनाउने, पर्खाल लगाउने र जङ्गलबाट काठ ओसार्ने एवं कुद्ने काम श्रमदान गरी निर्माण गरेका थिए । चुन, सुर्खी(ईटाको धुलो) आदि विशेष सामग्रीबाट बनाइएको ईटा र अग्राखको काठ निकै बलियो भएको एवं विशेष वास्तुकलाको प्रयोग भएकाले तिनतले यो महल अहिलेपनि उत्तिकै बलियो र मनमोहक छ । ईटामा खड्गशमशेर लेखिएको छ । वढी काठको प्रयोग भएकाले सुन्दर देखिन्छ । जिर्णोद्धारमा चुन, सुर्खी र सिमेन्टको प्रयोग भएको छ ।

अवलोकन गर्न वार्षिक सरदर १ हजार ५ सय आन्तरिक र ५ सयजति विदेशी पर्यटक आएको तथ्याङ्क छ । तानसेन आएका प्रायः पर्यटक यहाँ आउने गरेका छन् । अब टिकट लागू गर्ने कार्यक्रम छ ।

रुरु क्षेत्रका हृषिकेश मन्दिरको हजारौ रोपनी, अर्गली दरबारको १२ रोपनी र रानीमहलको ठूलो परिमाणको गुठी जग्गा र धनमाल खोजी र संरक्षण गर्न सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने माग उक्त सम्पदा व्यवस्थापन समितिको छ । माओवादीको तानसेन दरबार माथिको आक्रमणले यी तीनवटै सम्पदाको गुठी संरक्षणमा समस्या भएको समितिको अनुभव छ ।

खड्गशमशेर र रानीमहलको इतिहास
इतिहास अनुसार १९०३ साल असोज १ गते २९ वर्षको उमेरमा प्रधानमन्त्री र सेनापति बनेका जङ्गबहादुर कुँवरले राणापद्वी पाए । श्री ३ महाराज पनि बने । १९४२ सम्ममा राणा परिवार सिंह र शमशेर खलकमा विवाजित भईसकेको थियो । रणद्विप सिंहको हत्या गरी शमशेर खलकका जेठा ३२ वर्षिय विर शमशेर श्री ३ बने ।

माहिला २६ वर्षे डम्बर हजुरिया जर्नेल र साहिँला २४ वर्षे खड्ग सेनापति बने । रणदेव र चन्द्र शमशेर क्रमश पश्चिम, पूर्व र दक्षिण कमाण्डिङ जर्नेल(जङ्गीलाठ) बने । यसैलाई ४२ साल पर्व भनिन्छ । विरले खड्गलाई विश्वास गरी नेपाल अधिराज्यको सबै तैनाथको जिम्मेवारी सुम्पेका थिए । खड्गको १९४३ मा विरको हत्या गरी श्री ३ बन्ने षड्यन्त्र असफल भयो ।

विश्वासघातको सजायँवापत उनी पाल्पा गौडा अन्तर्गतको अर्घाखाँचीको ठाडा निकाला गरिए । १९४५ मा विरले उनलाई पाल्पाको पश्चिम कमाण्डिङ जर्नेल(मुख्य प्रशासक) र भैरहवा, तौलिहवा, बाग्लुङ र पर्वत सम्मको अख्तियारी पद दिए । १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा संस्कार गरियो । खड्गले संस्कार स्थललाई रानीघाट नाम राखी रानीमहलको शिलान्यासको साथै त्यहाँ पुग्न तानसेनबाट घोडेटो बाटो समेत बनाए । रानी तेजकुमारी रुपवती र सुशिल महिला भएकाले खड्गको उनीप्रति अतिशय प्रेमभाव थियो ।

Facebook Comments